प्राचार्य सन्देश

शिक्षाको सुनौलो रश्मीद्वारा सिञ्चित भई जीवनको सुदुर भविष्यको सुन्दर गोरेटाहरू कोर्नको निमित सचेतना, संज्ञान तथा उत्प्रेरणा दिने पहिलो र प्रमुख अंग विद्यालय नै हो । विद्या–ज्ञान र चेतनाको पवित्र मन्दिर मानिने विद्यालय जस्तो स्वार्थरहित सामाजिक संस्थाले कलिला बालबालिका तथा नानीहरूको बाल मस्तिष्कलाई ओझपूर्ण तरिकाले संज्ञानात्मक पक्षहरूबाट भरिपूर्ण गराई सुनौलो भविष्यको दक्ष, योग्य र कर्मठ नागरिक उत्पादन गर्ने ध्येय राख्दछ । जीवन भनेकै सिकाई र व्यवहारको तालमेल पनि हो, जसमा शिक्षा वा ज्ञानको पक्ष प्रधान भएर आउँछ । ‘आधुनिक मानव जीवनको तेस्रो आँखा शिक्षा नै हो’ भनिए पनि २० औं शताब्दीको उत्तराद्र्धदेखि २१ औं शताब्दीको दोस्रो दशकको करिब अन्त्यतिरसम्म आउँदै गर्दा, आजसम्म भएको सूचना प्रविधीको उच्चतम विकास, भूमण्डलीकरण तथा विश्वव्यापीकरणको प्रभाव तथा विज्ञान–प्रविधी र शैक्षिक क्षेत्रको तीव्र विकासले उक्त भनाईलाई अपूर्ण सावित गरिसक्यो । भौतिक आँखाले देखिएको संसारभन्दा ज्ञान चक्षुले देखिने जीवन र जगत कयौं गुणा बढी सुन्दर र वास्तविक हुन्छ । त्यसैले भन्ने गरिन्छ पनि ‘शिक्षा विनाको जीवन साँच्चिकै अन्धो हुन्छ ।’ यसर्थ पनि शिक्षा जीवनको तेस्रो आँखा नभएर वास्तवमै पहिलो आँखा नै हो । जीवनलाई शिक्षा वा ज्ञानले सिञ्चित गराएर सवल व्यक्तिको सुन्दर भविष्य निर्माण गरी समाज र राष्ट्रलाई आवश्यक योग्य नागरिक बनाउने प्रमुख तथा औपचारिक स्थल भनेका विद्यालय नै हुन् ।
प्रारम्भकालमा बाह्रखरी सिकाउँदै श्लोकमा आधारित गुरुकुल शिक्षा दिलाउने विद्यालयहरू अहिले बहुआयामिक तथा बहुउद्देश्यीय क्षेत्रमा परिणत भएका छन् । समय सापेक्ष युगको माग र आवश्यकताअनुसार विकासको गति पनि बढ्दै र परिवर्तन हुुँदै जाने हुँदा हाम्रा शिक्षण संस्थाका भूमिका र जिम्मेवारीका दायारा पनि फराकिला तथा बहुआयामिक बनेका छन् । तसर्थ, युगले मागेअनुरुप तथा राष्ट्रको आवश्यकता बमोजिम दक्ष र सवल जनशक्ति उत्पादन गर्न विद्यालयको भौतिक, प्राविधिक, शैक्षिक, व्यवस्थापकीय सबै क्षेत्रहरू समयानुकुल विकसित हुनैपर्छ । माथि उल्लेखित यी सवालहरूलाई सम्बोधन गरी शिक्षा क्षेत्रको सर्वाङ्गीण विकास गर्नको लागि नमुना विद्यालयको अवधारणा आएको हो । यसै क्रममा शैक्षिक शत्र २०७४ मा यो विद्यालय समग्र देशैभरीका सामुदायिक विद्यालयहरु मध्य उत्कृष्ट नमुना विद्यालयको रुपमा छनोट हुन सफल भएको छ । जुन समग्र रोल्पा र हामीसबै रोल्पालीको खुशी र गौरबको विषय हो । यसको मूल ध्येय भनेकै भौतिक, प्राविधिक तथा संस्थागत रुपमा विद्यालयको स्तरोन्नती गर्दै शैक्षिक गुणस्तर सुधारका लागि राम्रो विद्यालय–राम्रो शिक्षण–राम्रो सिकाई ९द्यभततभच क्अजयय(िद्यभततभच त्भबअजष्लन–द्यभततभच ीभबचलष्लन० को सुनिश्चितता प्रदान गर्नु हो ।
सामुदायिक विद्यालयमा बढ्दै गएको बेथिति, अराजनीति तथा अस्तव्यस्तताले खस्कदै गएको शैक्षिक गुणस्तरलाई पुनःर्जीवन दिँदै अभिभावकप्रति मौलाउँदै गएको अविश्वासलाई पुनःच्युत गर्दै समाजका सपना र राष्ट्रको अपेक्षलाई जलप लगाउनु पनि परिवर्तित समय सन्दर्भमा विद्यालयको नयाँ जिम्मेवारी हो । सामुदायिक विद्यालयमा सबैको समान पहुँच पु¥याएर नवीनतम सूचना प्रविधि मार्फत प्रविधिमैत्री सिकाई, जीवनोपयोगी सिकाई तथा सदाचारिता, सहनशिलता, पारदर्शिता, जवाफदेहिताको माध्यमबाट सबै पक्षमा जिम्मेवारीबोध, उत्तरदायित्वको बोधले पक्कै पनि प्रवर्तनात्मक सिकाईलाई अख्तियार गर्न मद्दत पु¥याई सिकाई उपलब्धी वृद्धि गर्न उर्जा प्रदान गर्नेछ । यो पवित्र लक्ष्यलाई पूरा गर्ने अभिप्रायले चालु शैक्षिक शत्र २०७५ देखि लागुहुनेगरी विद्यालयको ५ बर्षे सुधार योजना निर्माण सम्पन्न भै शिक्षा विभागको स्वीकृती पश्चात तिब्र कार्यान्वयन गरी आगामि ५ बर्ष भित्र शैक्षिक,भैतिक,प्राविधिक तथा समग्र पक्षमा विद्यालयको स्तर अभिबृदि भै मुहार फेरिनेछ भन्ने बिश्वास लिएको छु । विद्यालय विकासको सिलसिलामा विद्यालयको भैतिक,शैक्षिक,सामाजिक तथा सर्बाङ्गीण कोण बाट सहयोग तथा उत्प्रेणा दिनुहुने समुदाय,अभिभावक,तालुकि निकाय र सम्पुर्ण सरोकारवाला पक्षहरु प्रति कृतज्ञ छु । शिक्षा विकासको यो अभियानमा सहभागी भै योजनावद्ध विकासमा सहयोग गर्नुहुने सम्पुर्ण शिक्षक स्टाफ,कर्मचारी र विद्यालय ब्यबस्थापन समिती लाई धन्यावाद दिन चाहान्छु । हाम्रो विद्यालयको ५ बर्षे गुरु योजनाले निर्दिष्ट गरे बमोजिमको दुरदृष्टि वा लक्ष्य लाई पुरा गर्न हामी सबै जिम्मेवारीबोध र उच्च मनोवलका साथ कार्यसम्पादनमा जुटौं । पक्कै पनि परिश्रमको फल मीठो हुन्छ । हाम्रो सपना र लक्ष्य अवश्य पूरा हुनेछ भन्ने सुन्दर आशा र विश्वास ब्यक्त गर्दछु ।

मधुसुदन पोख्रेल
प्राचार्य